कमल कोपिला
कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बम (वविता) ले ‘सि लिड्स आइकन अवार्ड’को समग्र समूहमा दोस्रो स्थान हासिल गरेकी छिन्। साथै, देशभरको प्रतिस्पर्धामा उनी चौथो स्थानमा रहेकी छन्। उनको यो उपलब्धि पचालझरना गाउँपालिकाका लागि मात्र नभई समग्र कर्णाली प्रदेश र देशकै लागि प्रेरणादायी बनेको छ।

सोमबार गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी उनलाई सम्मान र बधाई दिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नि) तथा प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमलगायत विभिन्न शाखा प्रमुख र प्रतिनिधिहरूले बमलाई खादा ओढाएर सम्मान गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट काठमाडौंमा आयोजित विशेष समारोहमा अवार्ड प्राप्त गरेकी बमको यो सफलता महिलाको नेतृत्व क्षमताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

देशभरका ७५३ स्थानीय तहमध्ये पहिलो चरणमा २७ जनाको छनोट गरिएको थियो। त्यसपछि तेस्रो चरणमा एसएमएस भोटिङमार्फत बमले उच्च स्थान हासिल गर्दै यो उपलब्धि हात पारेकी हुन्। सम्मान कार्यक्रममा उपाध्यक्ष बमले यो सफलता व्यक्तिगत मात्र नभई समग्र गाउँपालिकाको सामूहिक प्रयासको परिणाम भएको बताउँदै सबैलाई धन्यवाद दिइन्। उनले आगामी दिनमा थप सहयोग र समर्थनको अपेक्षा समेत व्यक्त गरिन्।

जनयुद्धका समयमा लामो समय जेल जीवन बिताएकी बम २०७९ सालमा पचालझरना गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। उनले देखाएको नेतृत्व, समर्पण र उपलब्धिले कर्णालीका महिलाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ। उपाध्यक्ष बमको यो सफलता नारी नेतृत्वको क्षमताको सशक्त प्रमाण हो, जसले पचालझरना गाउँपालिकालाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS