कमल कोपिला
शुक्रवार, १८ माघ, २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई नयाँ सडक खण्डको शुक्रवार शिलान्यास गरिएको छ । जसले स्थानीय बासिन्दालाई यातायातमा सहजता पुर्याउने अपेक्षा गरिएको छ । भेरेखोला देखि सिस्नेखोला तथा माल्कोट देखि अमना हुदै गणेशपुर र नेवलेपधेरा सडक निर्माणका लागि गाउँपालिकाले ठेक्का सम्झौता गरी औपचारिक रूपमा कार्य प्रारम्भ गरेको हो । रुप्सा क्षेत्रलाई जोड्ने भेरेखोला-सिस्नेखोला सडक खण्ड निर्माणका लागि २ करोड १० लाख रकमको ठेक्का सम्झौता गरिएको थियो । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, वडा नं. ५ का वडाध्यक्ष मान बहादुर सहकारी, वडा नं. ४ का वडाध्यक्ष नन्दराम सहकारी, स्थानीय धामी-झाँक्री तथा अगुवाहरूको विशेष उपस्थितिमा उक्त सडकको शिलान्यास गरिएको छ । सो क्षेत्रमा ठूलो भीड तथा चट्टान भएका कारण सडक खन्ने काम चुनौतीपूर्ण भए पनि विकास निर्माणमा अवरोध नआओस् भन्ने हेतुले स्थानीय सरकार प्रतिबद्ध रहदै निर्माण कार्यको थालनी गरेको अध्यक्ष बिष्टले बताए । भौगोलिक कठिनाइका बाबजुद विशेष गरी भेरेखोला-सिस्नेखोला सडक खण्ड भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्र रहेको छ । ठूला चट्टानहरू भएका कारण निर्माण कार्य कठिनाइपूर्ण भए पनि विकासलाई तीव्रता दिने लक्ष्य राखिएको छ । सो सडक निर्माणले स्थानीय बासिन्दामा ठूलो उत्साह देखिएको छ । दुर्गम क्षेत्रमा यातायात सहज भएपछि गाउँपालिकाका नागरिकहरू आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । अध्यक्ष नगेन्द्र बहादुर बिष्टले ठेक्का प्राप्त कम्पनीलाई पूर्ण रूपमा सहयोग गर्ने तथा नागरिकहरूलाई विकास निर्माणमा सहकार्य गर्न आग्रह गरेका छन् ।

दुई प्रमुख सडक खण्डको शिलान्याससँगै नरहरिनाथमा विकासको नयाँ यात्रा सुरु भएको छ । भेरेखोलादेखि सिस्नेखोला र माल्कोट देखि अमना गणेशपुर-नेवलेपधेरा सडक निर्माणपछि यातायात सहज हुने, व्यापार फस्टाउने, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ। स्थानीय सरकारको पहलमा करोडौं रुपैयाँको लागतमा निर्माण हुन लागेको यी सडकहरू दुर्गम बस्तीहरूलाई मुख्य सञ्जालसँग जोड्दै आर्थिक र सामाजिक रुपान्तरणको आधार बन्नेछन् । जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न शिलान्यास कार्यक्रममा नागरिकहरूको उत्साह झल्किएको थियो। भौगोलिक कठिनाइका बाबजुद निर्माणको जिम्मा लिएका निर्माण सेवा कम्पनीले निर्धारित समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै, माल्कोट अमना गणेशपुरदेखि नेवलेपधेरा सडक निर्माणका लागि बोलपत्र अनुसार २ करोड ५ लाखको लागत अनुमान गरिएको थियो । तर सत्यवती निर्माण सेवा कम्पनीले १ करोड २८ लाख १ हजार ३७० मा ठेक्का सम्झौता गरी कार्य प्रारम्भ गरेको छ । सो सडकको शिलान्यास गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, वडा नं. १ का वडाध्यक्ष जगत बहादुर बिष्ट, वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको छ ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष कमल कुमार शाहले गाउँपालिकाले यातायात सहज बनाउने उद्देश्यले यो कार्य अघि बढाएको बताएका छन भने वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढाले नागरिकको हकहित सुनिश्चित गर्दै सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएका छन । त्यस्तै वडा नं. १ का वडाध्यक्ष जगत बहादुर बिष्टले समुदायको सहमतिमा विकास निर्माण हुनुपर्नेमा जोड दिएका हुन । सडक निर्माण पूरा भएसँगै उक्त क्षेत्र रामारोशनसँग जोडिनेछ भने जसले स्थानीय नागरिकहरूको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

सडक निर्माणपछि नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने देखिएको छ । यातायात सहज हुँदा यात्रा समय घट्नेछ र बिरामीलाई अस्पताल पुर्याउन, स्थानीय कृषकहरूले आफ्नो उत्पादन बजारसम्म पुर्याउन, आर्थिक गतिविधि बढाउन, विद्यार्थीहरूको विद्यालयसम्मको पहुँच सहज, स्वास्थ्य सेवामा पनि सुधार हुनेछन भने सामाजिक तथा सांस्कृतिक सम्बन्धहरू मजबुत हुने अपेक्षा गरिएको छ । सडक निर्माणले नागरिकको दैनिक जीवन सहज बनाउँदै आर्थिक, सामाजिक र भौतिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आगामी दिनहरूमा अन्य आवश्यक भौतिक संरचनाको विकासलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । दुर्गम क्षेत्रको समृद्धिको ढोका खोल्ने यी सडकहरूसँगै नागरिकहरूले आफ्ना सपना पूरा हुने आशा गरेका छन् ।

फोटो फाईलः चन्द्र भट्टराई र कमल बिष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
4
+1
3
+1
1
+1
1
+1
2

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS