कमल कोपिला ।
१९ माघ २०८१ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा विकास निर्माणलाई तीव्रता दिन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा जिल्ला स्तरीय सुरक्षा समिति, स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायका प्रमुखहरूको टोलीले आज संयुक्त अनुगमन गरेको छ ।
गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित पूर्वाधार योजनाहरूको अवस्था बुझ्ने र देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यका साथ अनुगमन गरिएको बताईएको छ । अनुगमन टोलीको प्राथमिक ध्यान सडक निर्माणमा देखिएको अवरोध हटाउनेतर्फ केन्द्रित रहेको थियो । गाउँपालिका भित्रका मुख्य सडकहरू निर्माणाधीन भए तापनि चट्टान फोड्न आवश्यक बिस्फोटक पदार्थको अभावले कार्य अवरुद्ध भएको थियो । गाउँपालिकाले यसअघि नै सम्बन्धित निकायहरूसँग आवश्यक पहल गरिसकेको भए पनि, तत्काल बिस्फोटक पदार्थ उपलब्ध नभएका कारण सडक निर्माण कार्य रोकिएको थियो । सो समस्याको समाधान खोज्न आज प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, र सरोकारवालाहरूको टोलीले सडक निर्माणका लागि नरहरिनाथको रुप्सा जोड्ने मुख्य सडक खण्ड अन्तर्गत वडा नं ३ मा पर्ने सिस्नेखोलाको चट्टानको निरीक्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, “सडक निर्माणको अवरोध तत्काल हटाउनुपर्छ । बिस्फोटक पदार्थ आपूर्तिको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्माण कार्यलाई निरन्तरता दिनेछौं । विकास निर्माणमा कुनै पनि कारणले ढिलाइ हुनुहुन्न ।”
अनुगमनपछि स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने र बिस्फोटक पदार्थ छिट्टै उपलब्ध गराउने सहमति भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै आज सुरक्षा निकायका अधिकारीहरूको प्रत्यक्ष निरीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरी बिस्फोटक पदार्थ उपलब्ध गराउने सहमति जुटेको छ । अब छिट्टै सडक निर्माण कार्यले तीव्र गति लिनेछ । सुरक्षा अधिकारीहरूको उपस्थिति सडक निर्माण र अन्य पूर्वाधार विकासको अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट, गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, नेपाल प्रहरीका डिएसपी टेक बहादुर रावत, शसस्त्र प्रहरीका डिएसपी दिपेन्द्र बिस्ट, नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल, सम्पुर्ण जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले सडक निर्माणमा देखिएको समस्या समाधान हुने आशा व्यक्त गर्दै भने, “हामीले लामो समयदेखि पहल गरिरहेका थियौं । अब जिल्लाबाटै पहल हुने भएपछि निर्माण कार्य छिट्टै अघि बढ्नेछ । सडक पूर्ण रूपमा निर्माण भएपछि स्थानीयको जीवनमा ठुलो परिवर्तन आउनेछ ।”
अनुगमन टोलीले अन्य पूर्वाधारहरूको अवस्थाबारे समेत प्रत्यक्ष निरीक्षण गरेको छ । ईलाका प्रहरि कार्यालय कुमालगाउँ, योगि नरहरिनाथ आधारभूत अस्पताल र नव निर्मित प्रशासनिक भवन तथा अन्य सार्वजनिक संरचनाहरूको निरीक्षण गर्दै, सुधार आवश्यक क्षेत्रहरू पहिचान गरिएको छ ।
स्वास्थ्य सेवाको गुणस्तरबारे बुझ्न टोलीले योगि नरहरिनाथ आधारभूत अस्पतालको समेत अवलोकन गरेको छ । अनुगमनका क्रममा अस्पतालका प्रमुख डा. शिवनाथ यादवले स्वास्थ्य सेवा प्रवाहका उपलब्धि र चुनौतीबारे जानकारी गराउँदै भने, “हाम्रो अस्पतालले सकेसम्म गुणस्तरीय सेवा दिन प्रयास गरिरहेको छ । तर थप भौतिक पूर्वाधारको आवश्यकता अझै छ । सो समस्या समाधान भए, सेवाको गुणस्तर अझै बढाउन सकिन्छ ।” प्रमुख जिल्ला अधिकारी भट्टराईले अस्पतालको अवस्थालाई गम्भीरतापूर्वक लिएर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “स्वास्थ्य भनेको नागरिकको आधारभूत अधिकार हो । नागरिकले गुणस्तरीय सेवा पाउनुपर्छ । प्रशासनले आवश्यक पहल गर्नेछ।” प्रजिअ भट्टराईले ईप्रका कुमालगाउँका सुरक्षाकर्मीलाई नागरिक सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिए । अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पनि नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेका छन ।
अनुगमनले नरहरिनाथको समग्र विकास योजनालाई पुनः ऊर्जा प्रदान गरेको छ । सडक निर्माणमा देखिएको अवरोध हट्ने भएपछि अब कार्य तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य सेवा सुधार गर्ने, र स्थानीय पूर्वाधारको गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ स्थानीय प्रशासन, सुरक्षा निकाय र गाउँपालिका एकैसाथ लागिपरेका छन् । यसबाट नरहरिनाथका नागरिकहरूले दिगो विकासको अनुभूति गर्न पाउने भएका छन ।
नरहरिनाथमा बिस्पोटक अभाव हट्ने, सिस्नेखोलाको सडक निर्माण हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1