कमल कोपिला
२३ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आई.एन.एफ. नेपाल, कालिकोटमार्फत सञ्चालित विभिन्न कार्ययोजनाहरूको अनुगमन सम्पन्न भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, शिक्षा शाखाका स्रोत शिक्षक धनकृष्ण पाण्डे, कृषि शाखाका प्राविधिक सहायक भीम बहादुर ओली, वडा नं. ८ का अध्यक्ष लाल बहादुर बिष्ट, महिला तथा बालबालिका शाखाका प्रतिनिधि बिक्रम विश्वकर्मा, आई.एन.एफ. नेपालका परियोजना सहायक अधिकृत रूपबहादुर शाही र टिम लिडर नयाँ विश्वकर्मा तथा पत्रकारहरूको सहभागितामा वडा नं. ८ र ९ का विभिन्न विद्यालय र समुदायका कार्ययोजनाहरूको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बालमैत्री तथा अपाङ्गमैत्री धारो निर्माण, स्वावलम्बन समूहहरूले सञ्चालन गरेका जिविकोपार्जनका कार्यक्रमहरू, फोहोरमैला व्यवस्थापन, टनेल प्रविधिबाट गरिने बेमौसमी तरकारी खेती, पशुपालन, मासिक बचत तथा विपद् व्यवस्थापन कोषजस्ता विषयहरूलाई समीक्षात्मक रूपमा अध्ययन गरिएको थियो । समग्रमा उक्त कार्ययोजनाहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको पाइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले अनुगमनपछि परियोजनाहरूले ल्याएको परिवर्तन सकारात्मक रहेको बताउँदै यस्ता योजनाहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गरे । उनले भने, “नरहरिनाथको समग्र विकासका लागि आई.एन.एफ. नेपालले महत्वपूर्ण काम गरिरहेको छ । स्थानीय समुदायले समेत यसलाई आत्मसात् गरी प्रभावकारी बनाउनु आवश्यक छ । आगामी दिनमा यस्ता योजनाहरूलाई अझ विस्तार गर्न स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहनेछ ।”
विद्यालय सुधार तथा सरसफाइ प्रवर्द्धनका क्षेत्रमा भइरहेको कामप्रति शिक्षा शाखाका स्रोत शिक्षक धनकृष्ण पाण्डेले प्रशंसा व्यक्त गरे । उनले भने, “विद्यालयमा बालमैत्री तथा अपाङ्गमैत्री पूर्वाधारहरू निर्माण हुनु शिक्षा क्षेत्रमा ठूलो उपलब्धि हो। यसले विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरण सिर्जना गर्न सहयोग गरेको छ। समुदाय र विद्यालय प्रशासनबीच अझ राम्रो समन्वय भए शिक्षा क्षेत्रको स्तर अझ माथि उठाउन सकिन्छ ।”
स्वावलम्बन समूहहरूले गरिरहेका कार्यहरूको समीक्षा गर्दा अधिकांश क्षेत्रमा राम्रो प्रगति देखिएको पाइएको हो । नरहरिनाथ-८, देउपातलका स्वावलम्बन समूहका सदस्यहरुले आर्थिक रूपमा आत्मनिर्भर बन्दै गइरहेको बताउँदै यो परियोजनाले उनीहरूलाई कृषि तथा उद्यमशीलताको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सघाएको उल्लेख गरेका छन । अर्कोतर्फ, नरहरिनाथ-९, श्रीकोट स्वावलम्बन समूहका सदस्यहरूले भने अझ थप स्रोतसाधन तथा प्रविधिगत सहयोगको आवश्यकता रहेको बताएका हुन । विशेष गरी कृषि तथा पशुपालन परियोजनाहरूलाई प्रविधिमैत्री बनाउन तथा बजार पहुँच विस्तार गर्न थप पहल आवश्यक रहेको उनीहरूको भनाइ छ। उनिहरुले गाउँघरमा भैसिपालन मार्फत उत्पादन हुने दूध दहि लगायतका परिकारहरुको उपयुक्त बजारीकरण गर्नका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।
वडा नं. ८ का अध्यक्ष लाल बहादुर बिष्टले यस्ता कार्यक्रमहरूको प्रभावकारीता दीर्घकालीन बनाउन स्थानीय समुदाय आफैंले पनि उत्तरदायी बन्नुपर्ने धारणा राखे । उनले भने, “आईएनएफ नेपालको पहलले समुदायलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउने दिशा दिएको छ । तर, यस्ता कार्ययोजनाहरूलाई दिगो बनाउन समुदाय स्वयं सक्रिय भएर लाग्नुपर्छ । स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीच सहकार्य बलियो भए अझ राम्रो नतिजा आउँछ।”
समग्रमा अनुगमन टोलीले आई.एन.एफ. नेपालमार्फत सञ्चालित परियोजनाहरूले नरहरिनाथ गाउँपालिकामा सकारात्मक प्रभाव पारिरहेको निष्कर्ष निकालिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा सरसफाइका क्षेत्रमा सुधार देखिएको छ भने महिलाहरू तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन परियोजनाहरू प्रभावकारी देखिएका छन् । केही सुधार आवश्यक क्षेत्रहरूलाई आगामी दिनमा थप प्रविधि र स्रोतसाधनको प्रयोगद्वारा सशक्त बनाइने प्रतिबद्धता गरिएको छ । अनुगमनपछि सरोकारवालाहरूले यस्ता कार्यक्रमहरूको निरन्तरता र दीर्घकालीन प्रभाव सुनिश्चित गर्न अझ प्रभावकारी योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
फोटो फाईलः चन्द्र भट्टराई