चन्द्र भट्टराई
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १ दिने शैक्षिक परामर्श गोष्ठी शनिबार सम्पन्न भएको छ। शिक्षा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजित उक्त गोष्ठीमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।

गोष्ठीको अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दुर्गलाल यौपानेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट उपस्थित थिए। उपाध्यक्ष कमल कुमार शाह, सामाजिक विकास समिति संयोजक जगत बहादुर बिष्ट, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, सम्पूर्ण वडाका अध्यक्षहरू तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (SEE) को सफल सञ्चालन, परीक्षा केन्द्र निर्धारण, शिक्षकहरूको मासिक तलब–भत्ताको सुनिश्चितता तथा विद्यालय व्यवस्थापन सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो।

शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा चैत्र १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ। कक्षा ८ को परीक्षा चैत्र १ गतेदेखि ७ गतेसम्म दिउँसो १:०० बजेबाट सञ्चालन हुनेछ भने अन्य कक्षाहरूको परीक्षा पनि चैत्र १ गतेदेखि सुरु हुने तय गरिएको छ। परीक्षालाई व्यवस्थित बनाउन पालिका भरि ११ वटा परीक्षा केन्द्र तोकिएको छ। साथै, भूगोललाई मध्यनजर गर्दै माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालनका लागि वडा नं. ३ स्थित श्री रमा माध्यमिक विद्यालय र वडा नं. ६ स्थित श्री नन्दादेवी मावि, माल्कोट सेरापाटा परीक्षा केन्द्रको रूपमा निर्धारण गरिएको छ।

गोष्ठीमा विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय समेत गरियो, जसअनुसार माघ मसान्तभित्र विद्यालयका विद्यार्थी संख्या, शिक्षक विवरण, भौतिक पूर्वाधारको अवस्था अद्यावधिक गरिसक्नुपर्नेछ। शिक्षकहरूको मासिक तलब–भत्ता सुनिश्चित गर्न कार्यपालिकामार्फत आवश्यक पहल गर्ने सहमति पनि भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नगेन्द्र बहादुर बिष्टले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गर्ने तथा समुदायसँग सहकार्य गर्दै शिक्षाको गुणस्तर वृद्धिमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। परीक्षालाई शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई सहयोग गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS