कमल कोपिला
आईतवार २७ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा एच.पि.भि. खोप अभियान २०८१ अन्तर्गत पहिलो दिन ७९२ किशोरीले खोप लगाएका छन्।

१८ विद्यालयका १७ खोप केन्द्र तोकिएको यस अभियानमा १४४३ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। अभियान माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

आईतवार गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, उपाध्यक्ष कमल कुमार शाह, स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारी, वडा नं १ का अध्यक्ष जगत बहादुर बिष्ट, वडा नं २ का अध्यक्ष प्रेम बिष्ट, वडा नं ३ का अध्यक्ष कटक बहादुर बुढा, वडा नं ९ का अध्यक्ष प्रदिप बोहोरा, श्री रमा माबि कालाशिल्लाका प्रधानाध्यापक तपेन्द्र महतारा, योगि नरहरिनाथ आधारभुत अस्पतालका ईन्चार्ज डा. शिवनाथ यादव, सि.अहेब राम बहादुर सहकारि स्वास्थ्यकर्मि अस्मिता जिसि र स्वास्थ्य सेवा कार्यालय कालिकोटमा कार्यरत हेल्थ असिस्टेन्ट जिवन सहकारि तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा वडा नं. ३ स्थित श्री रमा मावि कालाशिल्ला खोप केन्द्रमा अभियानको शुभारम्भ गरिएको थियो । खोप समन्वय समितिको बैठकमा अध्यक्ष बिष्टले अभियानको सफलताका लागि सम्पूर्ण सरोकारवालालाई संलग्न हुन निर्देशन दिँदै, “छोरीलाई दाइजो होइन, जिन्दगी उपहार दिनुपर्छ” भन्दै अभिभावकलाई खोप लगाउन प्रेरित गर्न आग्रह गरेका थिए ।
![]()
एच.पि.भि. खोप अभियानको मुख्य उद्देश्य १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप सेवा प्रदान गर्दै पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्नु रहेको छ। नेपाल सरकारले यस अभियानलाई फागुन ६ गतेसम्म देशभर सञ्चालन गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसका कारण ३ लाख ११ हजार महिलाको मृत्यु हुन्छ। नेपाल सरकारले प्रत्येक वर्ष फेब्रुअरी ४ (विश्व क्यान्सर दिवस) को अवसरमा एच.पि.भि. खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ। नरहरिनाथ गाउँपालिकाले यो अभियानलाई पूर्ण रूपमा सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दै अभिभावक, शिक्षक, वडा अध्यक्ष र सरोकारवालाहरूलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ। यस्तै, स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारि कटक महतका अनुसार कालिकोट जिल्लामा ८८१४ जना किशोरिहरुलाई लक्षित गरिएकोमा हालसम्म ६९.२४ प्रतिशत मात्र खोप लगाईएको बताईएको छ ।



