कमल कोपिला ।
२९ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको माल्कोट रातिमाटामा “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार: विकास र समृद्धिको आधार” भन्ने नाराका साथ नरहरिनाथ गाउँपालिकाको १६औं हिउँदे गाउँ अधिवेशन मंगलबार सुरु भएको छ।
अध्यक्ष नगेन्द्र बहादुर बिस्टको अध्यक्षतामा भएको अधिवेशनमा उपाध्यक्ष कमल कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शाखागत कर्मचारी, संघसंस्थाका प्रमुख तथा स्थानीय बुद्धिजीवीहरू सहभागी रहेका थिए ।

सभामा दलित समुदायका अधिकार सुनिश्चित गर्न विशेष संकल्प प्रस्ताव पेश गरिएको छ। पौराम कामीले राखेको प्रस्तावमा शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक सशक्तिकरण, छुवाछूत उन्मूलन, उद्यमशीलता प्रवर्द्धन, र समावेशी नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। प्रस्तावमा सीप विकास तालिम, छात्रवृत्ति, निःशुल्क स्वास्थ्य सेवा, आवास सहायता, कृषि प्रवर्द्धन जस्ता कार्यक्रम समावेश गरिएको छ।
अध्यक्ष बिस्टले “सबै नागरिकलाई समान अवसर उपलब्ध गराउने” प्रतिज्ञा गर्दै दलित समुदायको समृद्धिका लागि ठोस योजना ल्याइने बताए। स्थानीय दलित अगुवा, युवा, तथा बुद्धिजीवीहरूले प्रस्तावलाई स्वागत गर्दै प्रभावकारी कार्यान्वयनको माग गरेका छन्।
यस अधिवेशनमा सडक, पूर्वाधार, पर्यटन, उद्योग प्रवर्द्धन, स्वास्थ्य सुधार लगायतका विभिन्न विकास योजनामा छलफल गरी नीतिगत निर्णय लिइने बताईएको छ। गाउँपालिकाले आगामी वर्षका लागि ठोस कार्ययोजना बनाउने प्रतिबद्धता जनाएको छ।
सभाको संचालन सभाध्यक्ष नगेन्द्र बहादुर बिस्टले, आचारसंहिता प्रस्तुत सदस्य सचिव युवराज पौडेलले र सभालाई स्वागत नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले गरेका थिए ।