कमल कोपिला
१९ फाल्गुण २०८१ कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको रहगाडमा राष्ट्रगुरु योगि नरहरिनाथको १११औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ।
फाल्गुण १७ गते जन्मिनुभएका योगि नरहरिनाथको सम्मानमा नरहरिनाथ सांस्कृतिक तथा खेलकुद महोत्सव-२०८१ आयोजना गरिएको हो। नरहरिनाथ गाउँपालिकाको आयोजना र नरहरिनाथ नागरिक उत्थान केन्द्र को सह-आयोजनामा सम्पन्न महोत्सव शनिबारदेखि ३ दिनसम्म रहगाडमा संचालन भएको थियो।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले गर्नुभएको थियो। उहाँले “नरहरिनाथ गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने, खुलालु हुँदै रामारोशन-बडिमालिका पर्यटकीय सडक तथा पदमार्ग निर्माण गर्ने, रहगाडमा बेलिब्रिज स्थापना गर्ने, कोटबाडा विमानस्थल सञ्चालन गर्ने” लगायतका योजनाहरू अगाडि सार्नुभएको छ। प्रदेश सभा सदस्य हिक्मत बहादुर बिस्टले योगि नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाको माग गर्दै खुलालु-कोटवाडा-सान्नी-रास्कोट हुँदै लैफु सडक योजनामा बजेट वृद्धि आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले गर्नुभएको थियो। उहाँले राष्ट्रगुरु योगि नरहरिनाथले नेपालको धर्म, संस्कृति र इतिहासलाई उजागर गर्ने अतुलनीय योगदान गर्नुभएको छ। गाउँपालिकालाई धार्मिक र सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्नेछौं। आगामी जन्मजयन्तिको अवसरमा झन भव्य कार्यक्रम गर्ने भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले “स्थानीय संस्कृति, खेलकुद र परम्परालाई प्रवर्द्धन गर्ने यो महोत्सवले नयाँ पुस्तालाई आफ्नो जरा चिन्न प्रेरित गर्छ।” भन्नुभयो।
महोत्सवमा सांस्कृतिक कार्यक्रमहरू विशेष आकर्षण बनेका थिए। चर्चित कलाकारहरू विपना सिंह, शंकर मल्ल, सुर्जा रावल, र रत्नकमल बिस्टले दमदार प्रस्तुति दिएका थिए। “नरहरिनाथ गाउँपालिकामा निमन्त्रणा पाउनु गर्वको विषय रहेको र दर्शकहरूको माया पाउनु अझ विशेष लागेको कलाकार विपना सिंहले बताईन्।
खेलकुदतर्फ, भलिबल प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको थियो। आयोजक टोली विजेता बनेको थियो भने ईलाका प्रहरी कार्यालय कुमालगाउँको टोली उपविजेता बन्यो। यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता निखार्ने अवसर दिने गरेको विजेता टोलीका कप्तानले बताएका छन।
नरहरिनाथ गाउँपालिकामा सात वर्षदेखि निरन्तर योगि नरहरिनाथको जन्मोत्सवलाई भव्य महोत्सवका रूपमा मनाउने परम्परा छ। नरहरिनाथ सरकारका प्रवक्ता प्रदीप बोहोराका अनुसार, महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभूषा, देउडा नृत्य समेत प्रस्तुत गरिएको थियो।
योगि नरहरिनाथको योगदान अपार रहेको छ। १९७१ साल फाल्गुण १७ गते कालिकोटको लालुस्थित चाखा भडारीवाडामा जन्मिनुभएका बलवीर सिंह थापा योग र साधनाका माध्यमबाट योगि नरहरिनाथ कहलिएका थिए। उहाँले ५७३ पुस्तक लेखन गर्नुभएको थियो, जसमध्ये ३५९ कृति मात्र प्रकाशित छन्। २७ भाषा बोल्न सक्ने योगि नरहरिनाथ २०५९ साल फागुन १३ गते राती १२:४० बजे काठमाडौंको मृगस्थलीमा दिवंगत हुनुभएको थियो।
स्थानीय संस्कृति, खेलकुद, तथा धार्मिक महत्वलाई उजागर गर्ने यस महोत्सवले नरहरिनाथ क्षेत्रको पहिचानलाई अझ मजबुत बनाएको छ। “धार्मिक आस्था, खेलकुद, र सांस्कृतिक विविधताको संगम बनेको यो उत्सव नरहरिनाथको गौरवशाली इतिहासको अभिन्न अंश बन्दै गएको आयोजक समितिले जनाएको छ।