कमल कोपिला
२१ फाल्गुण २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ३ को आयोजनामा सहिद परिवारलाई सम्मान गर्ने ऐतिहासिक कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ। सहिद परिवारको बलिदानलाई उच्च सम्मान गर्दै वडाले साबिक कुमालगाउँ गाबिस भित्रका २५ जना सहिद परिवारलाई सम्मान पत्र र बलाङ्केट सहित औपचारिक रूपमा सम्मान गरेको हो।
कार्यक्रम नरहरिनाथ गाउँपालिका वडा नं. ३ का अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य जीवन बुढा रहनुभएको थियो भने विशेष अतिथि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, उपाध्यक्ष कमल कुमार शाह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा खड्का, नेकपा केन्द्रिय सदस्य बल बहादुर बुढा ‘अभिचल’, कर्णाली प्रदेश कमिटी सदस्य अग्र बहादुर बिष्ट ‘सुनिल’, मनशोभा बुढा ‘आशा’ तथा नेपाली काँग्रेस वडा नं. ३ का सभापति गोबिन्द बिष्ट, नेकपा एमालेका प्रतिनिधि पदम बहादुर बुढा, रमा मावि कालाशिल्लाका प्रधानाध्यापक तपेन्द्र महतारालगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहिद परिवारजनहरूले वडाले देखाएको सम्मान र अपनत्वप्रति कृतज्ञता व्यक्त गर्दै सहिदहरूले देखाएको बाटो अनुशरण गर्दै स्थानीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रमुख अतिथि जीवन बुढाले सहिद परिवारको सम्मान केवल औपचारिकतामा सीमित हुनु नहुने बताउँदै, राज्यले ठोस नीति निर्माण गरी सहिद परिवारका लागि शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने कार्ययोजना अघि सार्नुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले सहिद परिवारको योगदानको उच्च कदर गर्दै कर्णालीका पहिलो सहिद काली बहादुर बिकको बलिदानलाई सम्मान गर्दै, उहाँको शहादत दिन चैत्र २६ गतेलाई नै ‘सहिद दिवस’ का रूपमा मनाउने निर्णय भएको घोषणा गर्नुभयो।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा खड्काले सहिद परिवारका सन्तानहरूलाई विशेष शिक्षाको अवसर दिनुपर्ने बताउँदै, सरकारको नीति निर्माणमा सहिद परिवारको पनि सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मनशोभा बुढाले सहिद परिवारलाई विशेष सेवा-सुविधा उपलब्ध गराउन राज्य अझै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि सहिद परिवारलाई केवल सम्मानमात्रै पर्याप्त नभई, उनीहरूको सामाजिक सुरक्षाका लागि ठोस नीति आवश्यक रहेको धारणा राखे। नेपाली काँग्रेसका वडा सभापति गोबिन्द बिष्ट, नेकपा एमालेका पदम बहादुर बुढा, प्रधानाध्यापक तपेन्द्र महतारालगायतका वक्ताहरूले सहिद परिवारलाई आर्थिक, शैक्षिक तथा स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष कट्टक बहादुर बुढाले सहिद परिवारको सम्मान केवल एक दिवसमा सीमित नरहने बताउँदै, आगामी दिनमा थप राहत, सहयोग तथा विकासका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहिद परिवारका सन्तानहरूलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा प्राथमिकता दिने योजना अघि बढाउने बताउँदै, उपस्थित सबैलाई आभार प्रकट गर्नुभयो। कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य राम बहादुर बुढाले राख्नुभएको थियो भने कार्यक्रमको उत्कृष्ट सञ्चालन वडा सचिव देवराज बिकले गर्नुभएको थियो।
नरहरिनाथ गाउँकार्यपालिकाको निर्णय अनुसार अबदेखि प्रत्येक वर्ष चैत्र २६ गते सहिद दिवस मनाउने निर्णय यश अघि नै भैइसकेको छ। यो निर्णयसँगै नरहरिनाथ गाउँपालिका सहिद परिवारको सम्मानमा प्रतिबद्ध रहँदै उनीहरूको अधिकार सुनिश्चित गर्ने दिशामा अघि बढ्ने संकेत गरेको छ।
सहिद परिवारप्रति सम्मानजनक अपनत्त्व लिन वडाको ऐतिहासिक कदम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1