कमल कोपिला
२५ चैत २०८२, कालिकोट।
जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले आज नरहरिनाथ गाउँपालिका क्षेत्रका विभिन्न सार्वजनिक स्थल तथा संस्थाको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी सुयलले नरहरिनाथ गाउँपालिकास्थित योगी नरहरिनाथ आधारभूत अस्पतालको स्थलगत निरीक्षण गर्दै स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्यकर्मीको उपस्थिती, औषधि व्यवस्थापन, सरसफाइ तथा बिरामीलाई प्रदान गरिँदै आएको सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो।
त्यसैगरी, उहाँले डाँडामाडु बजार क्षेत्रको समेत अनुगमन गर्दै बजारको समग्र अवस्था, सरसफाइ, व्यवसायिक गतिविधि तथा स्थानीय सेवा प्रवाहबारे अवलोकन गर्नुभएको हो।
यसैक्रममा प्रमुख जिल्ला अधिकारी सुयलले नरहरिनाथ गाउँपालिका वडा नं. ३ स्थित श्री रमा माध्यमिक विद्यालय, कालाशिल्लामा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (S.E.E.) को पनि निरीक्षण गर्नुभएको छ। परीक्षा केन्द्रको अनुगमन गर्दै उहाँले परीक्षा सञ्चालनको अवस्था, व्यवस्थापन, शान्ति–सुरक्षा तथा विद्यार्थीका लागि आवश्यक वातावरणबारे जानकारी लिनुभएको थियो। अनुगमनका क्रममा विद्यालय परिसरभित्र रहेको भत्किएको प्राङ्गणको समेत निरीक्षण गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार कमजोर हुँदा विद्यार्थी तथा शैक्षिक गतिविधिमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त क्षेत्रको समेत अवलोकन गरिएको जनाइएको छ।
स्थानीय स्तरमा स्वास्थ्य, शिक्षा, बजार व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउन यस्ता अनुगमनले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।


