कमल बिष्ट
२५ चैत २०८२, कालिकोट।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिकामा सञ्चालन गरिएको १५ दिने डल कुशन उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। “सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिमले स्थानीय १० जना महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ।
उद्योग विकास शाखाको आयोजनामा सञ्चालन भएको तालिमको समापन समारोहको अध्यक्षता उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बिष्टले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट रहनुभएको थियो। त्यसैगरी विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह, वडा नं. ३ का वडा अध्यक्ष कटक बुढा, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगर, तथा प्रशासन शाखा प्रमुख टेक महतारा लगायत तालिममा सहभागीहरुको समेत उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षक मनिषा ओझाले सहभागीहरुलाई डल कुशन उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता नरेन्द्र बुढाले गर्नुभएको थियो।
तालिममा सहभागी सुनिता बुढाले छोटो समयमै ८ वटा सामग्री तयार गर्न सफल भएको बताउँदै तालिमप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले यस्ता आत्मनिर्भर बनाउने सीपमूलक तालिम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले सहभागीहरुलाई सीप सिकेर बीचमै नछोड्न आग्रह गर्नुभयो। उहाँले यस्ता तालिमले भविष्यमा उद्यमशीलता र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर निरन्तरता दिन सुझाव दिनुभयो। साथै, १५ दिनसम्म नियमित रूपमा उपस्थित भई सीप सिक्ने सहभागी तथा समय दिएर प्रशिक्षण गराउनुहुने प्रशिक्षकप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बिष्टले नरहरिनाथ गाउँपालिकामा व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई थप व्यवसायमुखी, लगनशील र उद्यमशील बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले सहभागीहरुलाई भविष्यमा आफैं प्रशिक्षक बन्ने स्तरसम्म सीपलाई विकास गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो।
साथै, गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना, उद्यम विकास र गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।


