कमल कोपिला

०७ वैशाख २०८३, कालिकोट।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत माघ ११ गतेको निर्णयअनुसार स्थापना भएको उक्त कार्यालयले पहिलोपटक सेवा प्रवाह थालेको हो।

नयाँ कार्यालयमार्फत अब नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदन सङ्कलन, कार्ड वितरण लगायतका सेवाहरू प्रदान गरिनेछ। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवाहरूलाई छिटो, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले रास्कोटबाट सेवा विस्तार गरिएको हो।

उनका अनुसार रास्कोट नगरपालिका सहित पलाँता, पचालझरना र सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ अन्तर्गतका स्थानीय तहलाई लक्षित गर्दै कार्यालय स्थापना गरिएको हो।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै सांसद शाहीले लामो समयको प्रयासपछि प्रशासनिक सेवा विस्तार सम्भव भएको उल्लेख गर्दै अब नागरिकले सामान्य सेवाका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।

जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले इलाका प्रशासन कार्यालय स्थापनाले साविकका १७ गाविसका नागरिकलाई सहज सेवा पहुँच सुनिश्चित गरेको बताए। उनका अनुसार भौगोलिक रूपमा विकट कालिकोटमा प्रशासनिक सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्दै गएको छ।

एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष दयाराम सिम्खडाले कार्यालय सञ्चालनसँगै नागरिकले समय र खर्च दुवै बचत हुने बताए। उनका अनुसार नागरिकता बनाउन मात्रै कम्तीमा तीन दिनको यात्रा र करिब तीन हजार रुपैयाँ खर्च हुने अवस्थाबाट अब राहत मिल्नेछ।

विभिन्न सरोकारवालाबीच केही फरक मत देखिए पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कालिकोटका अधिकांश नागरिकले सरकारी सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS