कमल कोपिला
कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको अध्यक्षतामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
स्थानीय तहका जनप्रतिनिधि, एम्पायर, खेलाडी लगायतका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले आगामी खेलकुद कार्यक्रमहरूलाई प्रभावकारी बनाउन थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वर्ष नरहरिनाथ गाउँपालिकामा आयोजना गर्ने निर्णय गरेको छ। साथै, १५औं कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालिकोट जिल्लाबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई पोशाक, यातायात भाडा तथा बन्द प्रशिक्षणको व्यवस्था गरिने पनि स्पष्ट गरिएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण स्थानीय तहलाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत सर्वसम्मतिले पारित भएको छ।
जिल्ला स्तरदेखि प्रदेशस्तरको समन्वयमा खेलकुदको विकास र विस्तारका लागि बैठकले गरेका निर्णयहरू कालिकोटको खेल क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।